भारतमा बन्धक बनाइएका ९ नेपाली महिलाको उद्दार

539

काठमाडौं १५ पुस । भारतमा सात महिना देखि बन्धक बनाइएका ९ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका ९ जना महिलालाई उद्धार गरिएको हो । खाडी मुलुक लैजाने भन्दै भारतको नयाँ दिल्लीस्थित एक होटलमा महिलाहरुलाई बन्धक बनाएर राखिएको नेपाल प्रहरीले बताएको छ । कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो । केआई नेपालको प्रयासमा महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ । भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ । केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ ।