हात्ती महोत्सवमा विजुलीकलीको चमत्कार,दुईवटा उपाधि जितेर रेकर्ड कायम

553

सौराहा १५ पुस । सौराहामा निजी स्तरमा सञ्चालित विजुलीकली यस बर्षको चितवन हात्ती महोत्सवमा चिर्चित बनेको छ । दुई वटा उपाधि जितेर विजुलीकलीले महोत्सवकै इतिहासमा रेकर्ड कायम गर्न सफल भएको हो । उसले हात्ती सुन्दरी र हात्ती फाष्टवाकको उपाधि जितेको हो । १८ बर्षीय सो हात्ती अनुसाहित छ । दिनहुँ जसो पर्यटक बोकेर जंगलजाने विजुलीकलीले सयौं मान्छेको भीडमा छुट्टै कला देखाउन सफल भयो युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले भने विजुलीकलीको हात्ती महोत्सवको इतिहासमै नौलो रेकर्ड हो ।

आइतबार भएको हात्ती फास्टवाकमा सौराहा बचतको तर्फबाट प्रतिनिधित्व गरेको बिजुलीकली प्रथम भयो भने नाटाको लक्कीकली दोस्रो हुँदा मिनिसो सपिङ स्टोर्सको बम्बोकली तृतीय भए । हात्तीको छावाहरुबीचको फुटबलमा एनआईसी एसिया बैँकले उपाधि जित्यो । फाइनल प्रतिस्पर्धामा एनआईसीले सिजीलाई ५–२ गोल अन्तरले पराजित गर्दै यस वर्षको उपाधि जित्न सफल भयो । एनआईसीको जीतमा सौराहागजले ३ र तेजगजले २ गोल ग¥यो । हात्ती पोलोको उपाधि होटल सेभेनस्टारले चुम्यो । आज भएको फाइनल प्रतिस्पर्धामा होटल सेभेन स्टारले एमई टुर्स एण्ड ट्राभललाई ५–३ गोल अन्तरले पराजित गरेको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए । ‘समाज, संरक्षण, समृद्धि’ भन्ने नाराका साथ सौराहामा आयोजित १५ औं चितवन हात्ती महोत्सव आज सकिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा यही पुस ११ गते देखि महोत्सव सुरु भएको थियो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको हो ।

समापनका अवसरमा मन्त्री लामा र संघका अध्यक्ष सुमन घिमिरेले हात्ती महोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी हात्ती तथा टिमहरुलाई पुरस्कृत गरेका थिए । समापनका अवसरमा संघका प्रथम उपाध्यक्ष दिपक भट्टराईले पर्यटन पूर्वाधार निर्माणमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्ने बताए । सोही अवसरमा हात्ती माउतेहरुलाई नगदसहित सम्मान गरिएको थियो । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवनले प्रत्येक वर्ष हात्ती महोत्सव गर्दै आएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको समापन समारोहमा प्रदेश सांसद कृष्ण भुर्तेल, गीता वाग्ले, रत्ननगर नगरपालिका–७ का वडाध्यक्ष राजन भट्टलगायतले मन्तव्य राखेका थिए ।