पूर्खौली पेशा छाडेर आयआर्जनमा सक्रिय हुदै खैरहनीका दराई र बोटे समुदाय

2617

खैरहनी १५ पुस । खैरहनी नगरपालिकामा रहेका सीमान्तकृत दराई र बोटे समुदायले पूर्खाैली पेशाले गुजरा नचलेपछि आयआर्जन तर्फ सक्रिय भएर लागेका छन् ।
आयआर्जनकै लागि पर्यटकीय क्षेत्र कुमरोजमा संयुक्तरुपमा माछापालन गर्दै आएका उनीहरुले आइतबारदेखि खाजा घरको शुभारम्भ गरेका छन् । खैरहनी १२ र १३ मा करिब ९० घरधुरी दराई बोटे छन् । उनीहरुको आयआर्जनका लागि खैरहनी नगरपालिका र कुमरोज मध्यवर्ती सामुदायिक वनको १०÷१० लाखको लागतमा माछा पोखरी निर्माण गरिएको थियो । सोही माछापोखरी रहेको कफी सप तथा पर्यटक बिश्रामस्थलमा दराईबोटे महिला समूहले खाजा घर सञ्चालन गरेका हुन् । सामुदायिक खाजा घरको प्रदेश नम्बर ३ का सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका हुन् ।
सोही अवसरमा प्रदेश सांसद खनालले सीमान्तकृत समुदायलाई पर्यटनसँग जोडेर उनीहरुको आयआर्जनमा टेवा पु¥याउने गतिविधि सञ्चालन गर्नुपर्ने बताए । खैरहनीकी दराई अगुवा एवम् खैरहनी नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी दराईले माछापालनबाट भएको आम्दानीले दराई बोटेको जीविकोपार्जनमा सहयोग गर्ने बताइन् ।
बोटे महिला माछापालन समूहकी अध्यक्ष सुनिता बोटेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङ, खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी, ११ का अध्यक्ष हाकिमसिंह उप्रेतीलगायतले मन्तव्य राखेका थिए । पोखरीमा माछा राख्न, दाना, माछापोखरी व्यवस्थापनका लागि जेडएसएल नेपाल र हिमालयन नेचरले १० लाख सहयोग गरेको थियो ।