सेवा नेपालको परिकल्पना : सहकारी विश्वविद्यालय र बैंक स्थापना

March 12, 2024
- ADVERTISEMENT -

रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल(सेवा नेपाल)ले सहकारी विश्वविद्यालय र सहकारी बैंक स्थापना गर्ने लक्ष्य सहित १० बर्षे परिकल्पना र पाँच बर्षे रणनीतिक योजना निर्माण गरेको छ ।

सौराहामा आयोजना गरिएको रणनीतिक योजना तर्जुमा गोष्ठीले स्वदेशमै युवाहरुलाई रोजगारी र्सिजना गर्न विश्व विद्यालय र विपन्न महिलाहरुको आर्थिक अबस्थामा सुधार ल्याउन सहकारी बैंक स्थापना गर्ने गरी परिकल्पना तयार गरिएको सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन् । महिला उद्यमीको नेतृत्वमा सहकारी विश्व विद्यालय स्थापना गरी व्यवसायिक शिक्षा प्रदान गर्ने योजना रहेको उनले बताइन् । विदेशमा श्रम गरिरहेका युवाहरुलाई स्वदेश फर्काएर विश्व विद्यालय मार्फत स्वदेशमै रोजगारी सृजना गर्ने योजना रहेको उनले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

युवाहरुलाई सहकारी विश्व विद्यालयमा अध्यायन गराएर स्वदेशमै कर्म गर्न सिकाउने र आम्दानीको पहिचानको लागि ज्ञान तथा सीप प्रदान गर्ने योजना सहित सहकारी विश्वविद्यालय स्थापना गर्ने परिकल्पना तयार गरिएको हो । अर्को तर्फ सहकारी बैंक स्थापना गरी उद्यमी बन्न चाहने महिलाहरुलाई सुलभ व्याजदरमा ऋण प्रदान गर्ने र देशभरका आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई आबद्ध बनाउने योजना रहेको सेवा नेपालकी अध्यक्ष न्यौपानेले बताइन् । कम्तिमा २० अर्ब पूँजि सहितको महिला उद्यमी बैंक स्थापना गरी सदस्यहरुलाई सुलभ ऋण र बिमा सेवा उपलब्ध गराउने परिकल्पना गरिएको छ । नेपालका सातवटै प्रदेश समेटिने गरी १५ लाख सदस्य सहित एक हजार महिला उद्यमी सहकारी सेवा नेपालमा आबद्ध गराई उनीहरुको जीवन स्तर सुधार गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

सेवा नेपालले महिला उद्यमी उद्योग सञ्चालन गरी व्यवसाय विकास र व्यापार प्रर्वद्धन गर्ने, महिला उद्यमीको नेतृत्वमा सहकारी विश्व विद्यालयले व्यवसायिक शिक्षा प्रदान गर्ने लगायतका विषयबस्तु समाबेस गरी ५ बर्षे रणनीतिक योजना र १० बर्षे परिकल्पना तयार गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिइन् । हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आयोजना गरिएको रणनीतिक योजना तर्जुमा गोष्ठी मंगलबार साँझ सम्पन्न भएको छ । गोष्ठीमा सेवा नेपालले सञ्चालन गर्ने कार्यक्रम र त्यसको प्रभावकारिता, सेवा नेपाल मार्फत गरिने सामाजिक उद्यमी महिला सहकारी संस्थाको सबलीकरण र व्यवस्थापनबारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा हेफर इन्टरनेशन नेपालकी कार्यक्रम निर्देशक सविना प्रधानले महिलाहरुलाई उद्यमी बनाउन हेफरले सञ्चालन गरेका कार्यक्रम र उपलब्ध, श्रोत व्यक्ति संगिता श्रेष्ठले गोदाबारीमा सम्पन्न योजना तर्जुमा गोष्ठीले तयार गरेको रणनीतिक योजना र परिकल्पनाबारे प्रस्तुतीकरण, सेवा नेपालले गर्ने काम र उपलब्धी, परिकल्पनाको प्राप्तीका लागि गर्नुपर्ने प्रयास,सेवाको दीगोपनाको लागि स्रोत प्राप्ती र व्यवसाय विकास रणनीतिको बारेमा प्रस्तुतीकरण, सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सहकारीहरुको विगतका प्रयास र उपलब्धीका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठी समापन कार्यक्रममा बक्ताहरुले सामुहिक प्रयासबाट मात्र सेवा नेपालले तयार गरेको परिकल्पनाले सार्थकता पाउने बताएका थिए । सेवा नेपालका प्रमुख सल्लहाकार डा.महेन्द्रनाथ लोहनीले इच्छाशक्ति र सामुहिक प्रयासबाट मात्र सेवा नेपालले लिएका लक्ष्य प्राप्ती हुने विश्वास व्यक्त गरे । कमजोर आर्थिक अबस्था भएका महिलाहरुको जीवन स्तर परिर्वतन गर्ने काम चानचुने होइन उनले भने यसमा एकता र इच्छाशक्ति आवश्यक हुन्छ ।

हेफर इन्टरनेशन नेपालका देशिए निर्देशक डा.तीर्थराज रेग्मीले सेवा नेपालले तयार गरेको रणनीतिक योजना र परिकल्पनालाई साकार पार्न हेफरले सहयोग गर्ने बताए । सेवा नेपालले तयार गरेको परिकल्पनाको कार्यान्वयनको लागि नेतृत्वको प्रतिबद्धतामा निर्भर पर्ने भन्दै त्यसका लागि हेफरले आवश्यक सहयोग गर्ने उनको भनाई छ । कार्यक्रममा सेवा नेपालकी लुम्बिनी प्रदेश संयोजक इन्द्रा भूषाले मन्तव्य राखेकी थिइन् । कार्यक्रममा सेवा नेपालका पदाधिकारी, प्रदेश स्तरका सञ्जालका संयोजक, हेफरका क्लष्टर प्रमुखहरु सहित ४० जनाको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -